खेलकुद

आजबाट शुचारु हुने ए डिभिजन लिगमा सातदाेबाटाे र फ्रेन्डस क्लब भिड्दै।

यस वर्षकाे सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज शुक्रबारबाट सुचारु हुनगइहेकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त सातदोबाटो र फ्रेन्ड्सबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

आज सातदोबाटो र फ्रेन्ड्स दुबै टिम जित निकाल्दै लिगमा सुखद सुरुआत गर्ने योजनामा रहेका छन् । सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । ‘बी’ लिगको उपाधि जित्दै सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो । सातदोबाटो मेघराज केसीको प्रशिक्षणमा मैदान उत्रदैछ । डेब्यु लिगमा सातदोबाटो उत्कृष्ट नतिजा ल्याउने योजनामा रहेको छ । ‘पहिलो पटक लिग खेल्दैछौ र टिमलाई यसको खासै ज्ञान पनि छैन । हामी लिगलाई अरुजस्तो लिदैनौ’, प्रशिक्षक केसी भन्छन्, ‘हामीले मेहनत गरेका छौ अनुभवलाई प्रयोग गरेर राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौ । सुरुवाती खेल सिक्ने मौका हुनेछ ।’ सातदोबाटोका कप्तान मान बहादुर तामाङले यस पटक आफुलाई प्रमाणित गर्ने अवसर भएको बताउछन् । ‘चुनौतीको रुपमा लिएको छु । यो आफूलाई प्रमाणित गर्ने अवसर पनि हो । अरु खेलाडीहरुसँग अनुभव साट्ने छु । टिमको विदेशी खेलाडीहरुले युवा खेलाडीलाई मोटिभेट गर्नेछन्’, उनले भने ।

फ्रेन्ड्सले लामो समयबाट लिग खेल्दै आएको छ । तर, फ्रेन्ड्सले लिगको उपाधि जित्न सकेको छैन । फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र प्रसाद मिश्रले सातदोबाटोविरुद्धको खेल कठिन हुने बताए । ‘हाम्रो पहिलो उदेश्य भनेको सुरक्षित हुने, रेलिगेसनबाट बच्ने अनि त्यपछि छैटौं सातौसम्म आउने रहेको छ’, मिश्रले भने, ‘सातदोबाटो बलियो छ, नयाँ क्लब र नयाँ जोसका साथ आएको छ ।’ कुल ९१ खेल हुने लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्नेछन् । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।

You may also like