खेलकुद

कार दु’र्घ’टनामा परि अस्ताए टर्किका फुटबल खेलाडि

सवारी दुर्घटनामा परेर टर्कीको राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अहमेट कालिकको निधन भएको छ। उनको कार दुर्घटनामा परेर २७ वर्षकै उमेरमा निधन भएको हो। बेलायतको पत्रिका ‘मिरर’का अनुसार कालिक आफैंले चलाएको कार दुर्घटनामा पर्दा उनको निधन भएको हो।

टर्कीको अन्कारामा मंगलबार बिहान कार दुर्घटना भएको बताइएको छ। युवा खेलाडी कालिकले टर्कीको राष्ट्रिय टोलीका लागि हालसम्म जम्मा ८ खेल खेलेका थिए। कालिकले सन् २०११ देखि २०१७ सम्म टर्कीको शीर्ष डिभिजनको लिग क्लब जेन्क्लेरबिर्लिगीबाट खेलेका थिए। सो क्लबका लागि उनले १०९ खेल खेल्दै ४ गोल गरेका थिए।

त्यसपछि उनले टर्कीकै अर्को क्लब गालाटासरीबाट पनि खेले। त्यहाँ उनले २०१७ देखि २०२० सम्म खेल्दा ३६ खेलबाट १ गोल गरेका थिए। पछिल्लो समय उनी सुपर लिग खेल्ने कोन्यास्पर क्लबबाट खेलिरहेका थिए। यस क्लबका लागि उनले ४७ खेलबाट १ गोल गरेका छन्।

कालिकले पछिल्लो खेल सुपर लिगमा २ दिन अघि मात्रै खेल खेलेका थिए। आफ्नो घरेलु मैदानमा भएको खेलमा कालिकको टिम सिभास्परसँग ०–१ ले पराजित भएको थियो। उनका लागि त्यही खेल नै जीवनको अन्तिम खेल बन्यो। कालिक आफ्नो टिमको पहिलो रोजाइका डिफेन्डर थिए।

कालिकले जारी सिजन २०२१–२२ मा घरेलु सुपर लिग फुटबलमा १८ खेल खेलेका थिए। उनी आफ्नो टोलीको डिफेन्स लाइनमा पहिलो रोजाइका खेलाडी रहँदै आएका थिए। उनको निधनबाट उनको क्लबले मात्रै नभएर टर्कीको राष्ट्रिय टोलीले पनि एक प्रतिभाशाली खेलाडी गुमाएको छ, केवल २७ वर्षकै उमेरमा। उनको निधनप्रति विश्वभरबाट दुःख व्यक्त भइरहेको छ।

You may also like